दफा ३९
बसोबासको ठेगाना मानिने

(१) कुनै व्यक्तिको बसोबासको ठेगाना निर्धारण गर्नु पर्दा निजले त्यस प्रयोजनको लागि कुनै ठेगाना दिएको रहेछ भने सोही ठेगाना र त्यसरी ठेगाना दिएको रहेनछ भने नेपालभित्र निजले स्थायी रूपमा बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा बसोबास पत्ता नलागेमा त्यस्तो व्यक्ति तत्काल बसोबास गर्दै आएको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा निजको बसोबास पत्ता नलागेमा निजले कुनै व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको रहेछ भने त्यस्तो व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको बसोबासको ठेगाना परिवर्तन भएको रहेछ भने त्यस्तो व्यक्ति तत्काल जुन ठाउँमा बसोबास गरेको छ सोही ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(५) असक्षम वा अर्धसक्षम व्यक्तिको बसोबास निर्धारण गर्नु पर्दा त्यस्तो व्यक्तिले स्थायी रूपमा बसोबास गरेको ठाउँ र त्यस्तो ठाउँ यकिन नभएमा त्यस्तो व्यक्तिको संरक्षक वा माथवर बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै खास प्रयोजनकोलागि कुनै ठेगानालाई आफ्नो बासस्थान मानेको भए त्यस्तो ठेगानालाई निजको बसोबासको ठेगाना मानिनेछ ।